घमाईलो

रगत जमाउने यस युगको ठण्डीमा
बिरुवा र माटोको बदलिएको सन्धिमा
आमाले तेल दलेको त्यो छोरोको ढाडमा
वन फाँडेर पहिरो ग्रसित बनेको पहाडमा
सुर्य देवताको सबैमा नजर छ
त्यसैले त शहरमा डुल्ने बाबुनानी देखि
गाउँमा खोक्दै हिँड्ने बुढ्यौली बानीसम्ममा
सुर्यको ताप अजर छ

आजको युधिष्ठिरको बोलीको नेपथ्यमा
आजको एकालव्यको एकल हिँडाईको गन्तव्यमा
आजको सागले पोषिएको हरेक नेत्रमा
प्रगती उन्मुख आजका वेदका प्रत्येक सुत्रमा
आजको कृष्णको त्यो सुरिलो बाँसुरीको धुनमा
बाबुले छोराछोरीलाई लगाएको सम्पुर्ण गुणमा
दिनहुुँ बढ्ने यो घामको तापको राप छ
त्यसैले त परमधाम नहुन्जेल आज सबैको
मुहारमा त्यस रापको रातो छाप छ

कोठाभित्र पस्ने घामका न्याना किरण
ताप्नबाट कसैलाई बन्चित हुनु छैन
बिहानै उठेर सुर्य नमस्कार नगरी
कसैलाई यहाँ नास्तिक हुनु छैन
मन शान्त पार्ने न्यानोपन न भेटिएला कि
आँगनमा आफुले रोपेका सुर्यमुखीको तिर्खा नमेटिएला कि भनी
बिहान भरी सुतेर उज्याला समय गुमाई राती कसैलाई रुनु छैन

तर सुर्यले दिने उर्जा र
हामीले सँधै गर्ने सुर्यको पुजाले गर्दा
हाम्रो जीवनमा उसको उच्च स्थान अचल छ
त्यसैले त छाँयामा परेकाको बेवास्ता गर्दै
तेज प्राप्तिकोलागी जो दौडन्छ,
आज उसैको छवि अब्बल छ

मित्रले मायाले अघि बढाएको हातमा
सुखी भनाउँदो हरेक दम्पतीबीचको साथमा
आफ्नो गाउँ-देहात बनाउने सपना बोक्ने त्यो युवामा
गुरुले चेलाका दिमागसँग खेलेको जुवामा
चेलाले गुरुप्रति देखाउने आदर सत्कारमा
आजका दिनमा प्रकाशित गीताको सारमा
त्यो घामको ज्योती हद भन्दा पार छ
त्यसैले त यो अन्धकार युगमा पथ प्रदर्शन गर्न
त्यही ज्योती सबैको आधार छ

काँच


हातबाट काँचको गिलास फुस्किन्छ
हातले यो के गलती गर्यो
कति चाँडै हत्केलामा पसिना पर्यो
चिप्लोमा के सरेन, के सर्यो

तर हात कामिरा'को पो देखिन्छ
नलगाई केहि अक्कल, न केहि बल
जस्ताको त्यस्तै झर्दै तल तल
कसलाई को असल, जब आँखै अघि हुन्छ यस्तो छल

चुमे त्यो काँच र जमिनले जब
मनले एक्कसी वर्तमानको आभास गर्यो
हातैले च्याप्प पार्दा पनि कसरी यो झर्‍यो
पैतालामा हाल कति टुक्रा गढ्यो

माया जति भर्दा पनि अट्ने भाँडो
अरनिकोको विशाल छानो बाट बालुवाको आकृति
चम्किरहने, प्रकाश पारिरहने पनि बद्लियो प्रकृति
देव दर्शन पाऔँ न पाऔँ, उराठलाग्दो अब यो धरती

सिकिस्त


दिनदिनै मनमनै बलिरहँदा
म  कस्तो खाडलमा खसेँ नि
केही छिनमै झरना बन्दा
इन्द्रेणी त म भित्रै पसे नि

निला दिनहरु मै रुम्मल्लिन्छु
छट्पटिको पसिनामै भिजिरहन्छु
शिवजीले अड्काएका सामुद्री विषझैँ
तल न माथि म उक्लनै पो सक्छु

ती हरिया लेउ, ननिस्कने लेघ्रा बने
आँखा अघिको पानीका थोपा झिल्के जेब्रा बने
यो हरियो डाँडामा उँभो लाग्दै छु कि उँधो
भनी यो झरनाको बाफमै मनमनै गमे

पर सानो द्वारले फ्यालिरहेको पहेँलो किरण
वेग बढाउँदै आफ्नो, निस्कन खोजेँ झर्दै भीषण
सुरिएर लाग्दा, थाहा पाएँ त्यो त रहेछ केवल हैजा
निथ्रुक्कै भिज्दै, झर्दै छु अझै, अन्त्य यसको हो कुन दिन

झरी छुट्न लागेका तरतरी यी राता आँखा
सुक्दैनन् यी, खाए पनि चारै छाक
त्यो रातो पानी, त्यसकै मत्त्याईमा पर्दा भर
फेरी बाह्रै मासे फल्ने त्यो उभिन सक्ने धाक    
   

हे भुपी दाइ


म जे गर्छु त्यही गर्छु भन्नेले
आफ्नो वचन भुलिगयो
दुखै दु:खले भरिएको त्यो
प्यान्डोराको बाकस पनि खुलिगयो
घुम्नै मात्र जाँदा बासै पाउने
देख्दै मात्र शीतलको आभास पाउने
दुई दिनै मात्र पाउँदा पनि पुरै संसार भ्याउने
कृष्णकै वरदान पाए मात्र अब देखिन्छ सामुन्ने
यो मनमा अब छट्पटी पनि
गहुँको रोटीझैं फुलिगयो
अनि त्यो फुलेको छट्पटी बिस्तारै समयमा
रगताम्य हुँदै पट्पटी फुटिगयो

प्रेम वाङ्मयको वरिष्ठ वक्ता
शब्दमा भार थप्ने नित्य कर्म
मनैबाट नाङ्गिएर माया छर्नेलाई
कुन संसारबाट लाज, कुन प्रकारको शर्म
मेरो जीवनको एक मात्र कोशेढुङा
यो कालो तालमुनिको चम्किलो मुगा
मेरो भेट त्यो हँसिलो मुहारसँग
यो बाँझो डाँडो बचाउने गुराँसको थुँगा
जुनको पल्लो छेउनै पुग्दापनि
विचारमा नआउने विराम
जीवनका निरस क्षणमा रस चुस्दा पनि
त्यो चंचल मनलाई नआउने आराम

आमाको आँखामा गढेको त्यो हिरा
पातलो सिसाझैं टुटिगयो
आमाको काखमा जमेको त्यो ताप
समुद्रका डाँकाझैं लुटिगयो
असिना पर्दाको घरको छानो
भाग्वद गीताकै एक पानो
कुरा पाकाको, मनचैँ सानो
बुबाको त जीउ भित्रकै प्राण त्यो
सबैको मन घुम्न आएको
थाहै नपाई उतापट्टी पो घुमिगयो
मेरो मुटुलाई अट्ने भोटो
आधा अँधुरो मात्रै बुनिगयो

अर्का


माया मेरी काली काली, यो दियोमा घ्यु सुक्दैछ
पर बस्ने नानीले कस्तो दीप बाली, मन मेरो उतै झुक्दैछ
माया मेरी सङ्लो ताल, तर दोषी हिलो बिस्तारै उनमा लुक्दैछ
ती नानीको गालामा कस्तो हो लाली, धड्कन मेरो त्यसै त्यसै रुक्दैछ
घुम्टो ओढी मुहार छोप, मायाले भन्छु छैन थर्का'को
ध्यान मेरो खहरे खोलो, गएर बग्यो आँगनमा अर्काको

हात मेरा खाली खाली, पित्तलले पुर्यो मेरो औँठी सुनको
लहलह फल्छ पर धानको बाली, खुले नयन यो डाहडे मुनको
आफ्नो खेत त्यसै साँची, जोत्न हिँडे पर गाउँदै खोस्ने धुन त्यो
धैर्यका साथ थापेँ जाली, नहेरी भा'छैन अर्को पट्टी के छ जुनको
यही माटो मेरो त्यही पाठो मेरो, बुझ्दिन अर्थ सिधा धर्काको
गढ्छन् यी तीनै नेत्र मेरा, देख्दा त्यो सुनौलो हाँसो अर्काको

कछुवाको चाल चाली चाली, खरायो बन्ने सबैको धोको
छिमेकको चामलले पेट पाली, बन्दै जाँदैछौँ अष्टमीको बोको
सत्य जान्दा जान्दै गर्छौँ गाली, अनि राती चैँ किन यो मन रो'को?
जुठै खाना आफ्नो थालमा हाली, किन बन्न खोजेका हौँ हामी चोखो
आफू बिर्सी सुम्पे अर्कालाई, पुर्याउनै पर्यो आँत आफ्नो मर्काको
अर्काको धोती अर्काको टोपी लगाउँदा, आफै बनिसकेछु अर्काको

रिसाहा


आउँछन् वाणी सुर्यको ताप बोकेर
आउँछन् वाणी बिजुलीको छाप बोकेर
आउँछन् हाँस्दै आफ्नो अभिशाप छोपेर
ठाउँठाउँमा ठोक्दै, ठाउँठाउँमा घोप्दै
तर मेरो मनको तालमा यी सबै
कसैले फ्यालेका पत्थर हुन्
केहि बेरकालागी लहरहरु आए पनि
सबै मेरो धैर्यतामा नतमस्तक हुन्

सयौं पटक मार खेप्दा खेप्दा
यो दिमाग बनिसकेछ अचानो
कयौं पटक अभद्र व्यवहार देख्दा देख्दा
यो लाग्दो रैछ पुरानो
मेरो मनको तालमा जमेका यी डुङ्गा
उचाले मेरा इन्द्रिय, यी लाटा बुङ्गा
उचाले आँसु नै आउने गरी मेरा जुङ्गा
जब बेला आयो खोज्न जीवनको सार
उल्टै लग्न खोजे मलाई जीवनको पार

गाउँछन् वाणी मेरा कानका जाली तोडेर
गाउँछन् वाणी मेरालागि साथमा गाली जोडेर
गाउँछन् वाणी मेरो सुखको आसन फोडेर
अस्थिरता जोड्दै, सोचाईलाई मोड्दै
भकभकी उम्लेको यो रगतै
पुग्छ यो गुन्जनलाई पुर्याउन शुन्य
हाँस्दै गाउँदै जसरी आए पनि
हारेरै जान्छन अब, पर गएर रुन

अचानो बनेको यो दिमागले
आफ्नो धार तिखार्न सिकिसकेछ
जुनसुकै गायकको पनि अब त
मिति पनि तोकिदिसकेछ
बिर्सेर ती महान ज्ञानदीप बुद्ध
बनी बदलाको लागि यसरी लुब्ध
बिर्सेर को हो बालक, को हो बृद्ध
भइन कसैको, बने म भुस्याहा
भगवानको अन्तिम अवतार मै, आए म मान्छे रिसाहा

मेघ बेदना


आकाशको त्यो रसिलो अङ्गुरलाई हेर
देखेपछि पाउन लाग्दैन कत्ति पनि बेर
रस बिर्सी चमकमै रमाउन थाल्दा
त्यसलाई चाख्ने मौका गयो खेर

हरेक बिहान त्यो रसमय सुगन्धको स्पर्श
आँखैले मात्र रमाउँदा, के बिस्मत के हर्ष
अब कहिले हुरी चल्ला र त्यो अङ्गुर 
मेरो आँ परेको मुखमा झर्छ

किन रहर हो गर्न बादलको शयर
अनि म माथि झरी र चट्याङको लहर
तर जब देख्छु त्यस अङ्गुरलाई, बादल हट्दा
केही छिनमा फेरि ओझेल होला भन्ने डर

अङ्गुरै नाथे मेरो बारीमा नभा'को हो र ?
तर त्यही बासनामा फसिसके घनघोर
अन्तिममा जब बारीकै अङ्गुरलाई नियाल्छु
लाग्दो रैछ जीवनमा हाँसेछु थोर

यसो रसपान गरी मुख मिठ्याउन पाए
अघाएको गीत मनैदेखि गाउन पाए
त्यसलाई बादलकै भरमा छोड्ने थिइन
आफ्नो मनको बारीमा कसैगरी रोप्न पाए

जब

जब पवित्र बागमती देखिन थाल्छ कालो
फाटेको दौरामा लजाउँदै लगाउछौँ टालो
जब यो माकुरे बुद्धीले, किराको अभावमा, फेर्न थाल्छ जालो
रित्तिन थाल्यो यो विचित्र फुलहरुको डालो

जब नफस्ने सङ्कल्पले दिन्छ धोका
जब फेरी ति अन्धाहरुले पाए फसाउने मौका
जब यो भगन्ते मनलाई लगाएन कसैले रोक
अनि कुन ठुलो कुरो भो र समुद्रको ढोका?

जब आफ्नो माया र मायालुको हुँदैन भेट
जब बिर्सन्छौँ आफ्नै आमाको त्याग समेत
जब पर्वाह हुन्छ मात्रै आफ्नो क्षत-बिक्षत
अनि कहाँँ आफ्नो खेतको चामलले भर्छ त पेट?

जब आँखै अघि प्रस्ट छ जुन
जब आफ्नै मैलो टोपी बाँकी छ धुन
जब आफ्नै साहुको, आफ्नै माऊको तिर्नै छ नुन
अनि किन पो गाउँछौँ समुद्रपारिको गुण?

दङ्ग चील


तिमीमा रम्ने मेरो कत्रो मन
त्रासको घेरा भित्र पो छिर्छु झन
चीलका आँखाले डाँडा हेर्न खोज्दा
मात्र देखेँ डढेलोले ध्वस्त वन

पङ्ख फैलाई बादल चुम्दै थिएँ
खुट्टामा बाँधिएको धागोमा परें दङ्ग
यसो झड्काई त्यो फुकाउँ भन्दा
जसरी चलाए त्यसरी चल्ने म चङ्गा

मेरा चल्लालाई भोक भोकै सुताई
पानी पर्दा यसो दुई शब्द पनि नगाई
बिहानका उज्याला किरणलाई कसरी ढोगुँ ?
आफ्नै भाकामा झ्याउरे नगाई
मान्छे जस्ता अप्ठ्यारा वस्त्र लगाई
के म पत्ता नलागिएको रोग हुँ ?
चील बनेरै समुद्रमा पौडिने धोको
सफा चेहरामा यो ढाडिएको फोको
फुटाई हेरेँ आफ्नो प्रतिबिम्ब
भन्छन् दाजु यो तेरो कस्तो शोख हो
तर यही मेरो प्यास, मेरो भोक हो
ठुला दाजुको बिचार कस्तो भिन्न

पछाडी बाँधिएको धागो दृष्टिमै छ
तर अघि फर्किँदै हुन्छु सन्च
बाँधेरै खेलाई रहेछौ भने
अन्तै पो भड्किन्छ यो मन त

के माथि उड्दै पौडिन सकिन्न र ?
मेरो त तिमीमै छ सबै भर
मलाई दास नबनाऊ, आफ्नो बा देऊ
जति नजिक आउँछु, त्यति नै नजाऊ पर

रोइरहेका मेरा चल्लालाई पनि नफकाउनु ?
तिनका आँखामा भन्किएका झिँगा पनि नधपाउनु?
दिन दिनै नबढाउन यो पिर
म त्यहीँ आउन खोजेको कस्तो नबुझेका
तिमी सँगै खेल्ने मेरो रहर कस्तो नसम्झेका
ममा तिमीनै, पाऊ देखि शिर
आफ्नै आँकडामा तिम्रै चित्र त कोर्दैछु
पर फर्किएको मुन्टो तिमी तिरै मोड्दैछु
तर गाह्रो छ काम, साह्रै गाह्रो
मीतले पनि यहि समयमा छोडेर जानू
यो गीत गाउँ भन्दा दाजुको कुरा नमान्नु
धागोले त कता हो कता लतार्यो

अन्योलको यो उडाईले देखाउँछ निकै दुःख
खोज्नै हिँडिसके पछि किन छानौँ यसमै सुख
अब यो स्वनिर्मित पथमा पन्ख फैलाउँदा
म के भिक्षु, अन्जान कि मुर्ख ?

खर्च तिमीमै,तिमीलाई नै खर्छ हरदम
समय मेरो कति हो बाँकी, कति भो कम
चलाइए पनि उडिरकै छु म
तिमी मै रम्ने मेरो यो मन

हाम्री दिदी भोलिबा

गाग्रो भरी पानी त ल्याउँछिन्
आज पनि सबेरै सुरु भो दिन
नित्य कर्म गर्न पुगे पछि
दिनभरका कसरतहरुलाई नियाल्छिन्

धुने लुगाको थुप्रो छुट्याएँ
बाबू नानीलाई स्कुल नी पुर्याएँ
लुगाको थुप्रो एकपटक फेरि हेरी
दुई गाग्रो अझै भरी ल्याएँ
आज शुक्रबार, शनिबारका लागि यी काम के साँचु
बरु मुनि बारी गई फर्सीका मुन्टा चैँ भाँचु
आज चौबीस घण्टामा चौबीसै काम मेरा
बरु दुई छिन आरामको स्वास लिई बाँचु

भरिया दाइको नयाँ घडीमा बजिसकेछ दस
कामको वेग त बढ्नै पर्‍यो, समयको दबाब वश
समयनै हो जीवन, तर जीवनमै समय नहुँदा
यो गरौं कि त्योमा पर्यो उनलाई खस खस

आकाश गर्जी पानी पर्‍यो घनघोर
केही छिन अझै रहने भए ती लुगा फोहोर
पानीबाट चुटिँदै के लुगा धुनु भनी
भईन आफ्नो समयको आफैं चोर

भकारीको चामल घुनले खाएर सिद्धिएछ
पानी पर्न रोक्किएर धुने इच्छा ब्युँतिएछ
तल नाली तिर लुगा लिएर झर्दा
त्यो दृश्यले तिनको तेस्रो नेत्र खुलिएछ

आजकै जत्तिको पाँच थुप्रोको रैछ त्यहाँ सभा
यसो हिजो अस्तिका दिनहरू पनि सम्झँदा
थाप्लो पिट्दै भईन थक्क थक्क
यस्ती थिइन हाम्री दिदी भोलिबा