जब

जब पवित्र बागमती देखिन थाल्छ कालो
फाटेको दौरामा लजाउँदै लगाउछौँ टालो
जब यो माकुरे बुद्धीले, किराको अभावमा, फेर्न थाल्छ जालो
रित्तिन थाल्यो यो विचित्र फुलहरुको डालो

जब नफस्ने सङ्कल्पले दिन्छ धोका
जब फेरी ति अन्धाहरुले पाए फसाउने मौका
जब यो भगन्ते मनलाई लगाएन कसैले रोक
अनि कुन ठुलो कुरो भो र समुद्रको ढोका?

जब आफ्नो माया र मायालुको हुँदैन भेट
जब बिर्सन्छौँ आफ्नै आमाको त्याग समेत
जब पर्वाह हुन्छ मात्रै आफ्नो क्षत-बिक्षत
अनि कहाँँ आफ्नो खेतको चामलले भर्छ त पेट?

जब आँखै अघि प्रस्ट छ जुन
जब आफ्नै मैलो टोपी बाँकी छ धुन
जब आफ्नै साहुको, आफ्नै माऊको तिर्नै छ नुन
अनि किन पो गाउँछौँ समुद्रपारिको गुण?

No comments:

Post a Comment