दङ्ग चील


तिमीमा रम्ने मेरो कत्रो मन
त्रासको घेरा भित्र पो छिर्छु झन
चीलका आँखाले डाँडा हेर्न खोज्दा
मात्र देखेँ डढेलोले ध्वस्त वन

पङ्ख फैलाई बादल चुम्दै थिएँ
खुट्टामा बाँधिएको धागोमा परें दङ्ग
यसो झड्काई त्यो फुकाउँ भन्दा
जसरी चलाए त्यसरी चल्ने म चङ्गा

मेरा चल्लालाई भोक भोकै सुताई
पानी पर्दा यसो दुई शब्द पनि नगाई
बिहानका उज्याला किरणलाई कसरी ढोगुँ ?
आफ्नै भाकामा झ्याउरे नगाई
मान्छे जस्ता अप्ठ्यारा वस्त्र लगाई
के म पत्ता नलागिएको रोग हुँ ?
चील बनेरै समुद्रमा पौडिने धोको
सफा चेहरामा यो ढाडिएको फोको
फुटाई हेरेँ आफ्नो प्रतिबिम्ब
भन्छन् दाजु यो तेरो कस्तो शोख हो
तर यही मेरो प्यास, मेरो भोक हो
ठुला दाजुको बिचार कस्तो भिन्न

पछाडी बाँधिएको धागो दृष्टिमै छ
तर अघि फर्किँदै हुन्छु सन्च
बाँधेरै खेलाई रहेछौ भने
अन्तै पो भड्किन्छ यो मन त

के माथि उड्दै पौडिन सकिन्न र ?
मेरो त तिमीमै छ सबै भर
मलाई दास नबनाऊ, आफ्नो बा देऊ
जति नजिक आउँछु, त्यति नै नजाऊ पर

रोइरहेका मेरा चल्लालाई पनि नफकाउनु ?
तिनका आँखामा भन्किएका झिँगा पनि नधपाउनु?
दिन दिनै नबढाउन यो पिर
म त्यहीँ आउन खोजेको कस्तो नबुझेका
तिमी सँगै खेल्ने मेरो रहर कस्तो नसम्झेका
ममा तिमीनै, पाऊ देखि शिर
आफ्नै आँकडामा तिम्रै चित्र त कोर्दैछु
पर फर्किएको मुन्टो तिमी तिरै मोड्दैछु
तर गाह्रो छ काम, साह्रै गाह्रो
मीतले पनि यहि समयमा छोडेर जानू
यो गीत गाउँ भन्दा दाजुको कुरा नमान्नु
धागोले त कता हो कता लतार्यो

अन्योलको यो उडाईले देखाउँछ निकै दुःख
खोज्नै हिँडिसके पछि किन छानौँ यसमै सुख
अब यो स्वनिर्मित पथमा पन्ख फैलाउँदा
म के भिक्षु, अन्जान कि मुर्ख ?

खर्च तिमीमै,तिमीलाई नै खर्छ हरदम
समय मेरो कति हो बाँकी, कति भो कम
चलाइए पनि उडिरकै छु म
तिमी मै रम्ने मेरो यो मन

No comments:

Post a Comment