रिसाहा


आउँछन् वाणी सुर्यको ताप बोकेर
आउँछन् वाणी बिजुलीको छाप बोकेर
आउँछन् हाँस्दै आफ्नो अभिशाप छोपेर
ठाउँठाउँमा ठोक्दै, ठाउँठाउँमा घोप्दै
तर मेरो मनको तालमा यी सबै
कसैले फ्यालेका पत्थर हुन्
केहि बेरकालागी लहरहरु आए पनि
सबै मेरो धैर्यतामा नतमस्तक हुन्

सयौं पटक मार खेप्दा खेप्दा
यो दिमाग बनिसकेछ अचानो
कयौं पटक अभद्र व्यवहार देख्दा देख्दा
यो लाग्दो रैछ पुरानो
मेरो मनको तालमा जमेका यी डुङ्गा
उचाले मेरा इन्द्रिय, यी लाटा बुङ्गा
उचाले आँसु नै आउने गरी मेरा जुङ्गा
जब बेला आयो खोज्न जीवनको सार
उल्टै लग्न खोजे मलाई जीवनको पार

गाउँछन् वाणी मेरा कानका जाली तोडेर
गाउँछन् वाणी मेरालागि साथमा गाली जोडेर
गाउँछन् वाणी मेरो सुखको आसन फोडेर
अस्थिरता जोड्दै, सोचाईलाई मोड्दै
भकभकी उम्लेको यो रगतै
पुग्छ यो गुन्जनलाई पुर्याउन शुन्य
हाँस्दै गाउँदै जसरी आए पनि
हारेरै जान्छन अब, पर गएर रुन

अचानो बनेको यो दिमागले
आफ्नो धार तिखार्न सिकिसकेछ
जुनसुकै गायकको पनि अब त
मिति पनि तोकिदिसकेछ
बिर्सेर ती महान ज्ञानदीप बुद्ध
बनी बदलाको लागि यसरी लुब्ध
बिर्सेर को हो बालक, को हो बृद्ध
भइन कसैको, बने म भुस्याहा
भगवानको अन्तिम अवतार मै, आए म मान्छे रिसाहा

No comments:

Post a Comment