अर्का


माया मेरी काली काली, यो दियोमा घ्यु सुक्दैछ
पर बस्ने नानीले कस्तो दीप बाली, मन मेरो उतै झुक्दैछ
माया मेरी सङ्लो ताल, तर दोषी हिलो बिस्तारै उनमा लुक्दैछ
ती नानीको गालामा कस्तो हो लाली, धड्कन मेरो त्यसै त्यसै रुक्दैछ
घुम्टो ओढी मुहार छोप, मायाले भन्छु छैन थर्का'को
ध्यान मेरो खहरे खोलो, गएर बग्यो आँगनमा अर्काको

हात मेरा खाली खाली, पित्तलले पुर्यो मेरो औँठी सुनको
लहलह फल्छ पर धानको बाली, खुले नयन यो डाहडे मुनको
आफ्नो खेत त्यसै साँची, जोत्न हिँडे पर गाउँदै खोस्ने धुन त्यो
धैर्यका साथ थापेँ जाली, नहेरी भा'छैन अर्को पट्टी के छ जुनको
यही माटो मेरो त्यही पाठो मेरो, बुझ्दिन अर्थ सिधा धर्काको
गढ्छन् यी तीनै नेत्र मेरा, देख्दा त्यो सुनौलो हाँसो अर्काको

कछुवाको चाल चाली चाली, खरायो बन्ने सबैको धोको
छिमेकको चामलले पेट पाली, बन्दै जाँदैछौँ अष्टमीको बोको
सत्य जान्दा जान्दै गर्छौँ गाली, अनि राती चैँ किन यो मन रो'को?
जुठै खाना आफ्नो थालमा हाली, किन बन्न खोजेका हौँ हामी चोखो
आफू बिर्सी सुम्पे अर्कालाई, पुर्याउनै पर्यो आँत आफ्नो मर्काको
अर्काको धोती अर्काको टोपी लगाउँदा, आफै बनिसकेछु अर्काको

No comments:

Post a Comment