हे भुपी दाइ


म जे गर्छु त्यही गर्छु भन्नेले
आफ्नो वचन भुलिगयो
दुखै दु:खले भरिएको त्यो
प्यान्डोराको बाकस पनि खुलिगयो
घुम्नै मात्र जाँदा बासै पाउने
देख्दै मात्र शीतलको आभास पाउने
दुई दिनै मात्र पाउँदा पनि पुरै संसार भ्याउने
कृष्णकै वरदान पाए मात्र अब देखिन्छ सामुन्ने
यो मनमा अब छट्पटी पनि
गहुँको रोटीझैं फुलिगयो
अनि त्यो फुलेको छट्पटी बिस्तारै समयमा
रगताम्य हुँदै पट्पटी फुटिगयो

प्रेम वाङ्मयको वरिष्ठ वक्ता
शब्दमा भार थप्ने नित्य कर्म
मनैबाट नाङ्गिएर माया छर्नेलाई
कुन संसारबाट लाज, कुन प्रकारको शर्म
मेरो जीवनको एक मात्र कोशेढुङा
यो कालो तालमुनिको चम्किलो मुगा
मेरो भेट त्यो हँसिलो मुहारसँग
यो बाँझो डाँडो बचाउने गुराँसको थुँगा
जुनको पल्लो छेउनै पुग्दापनि
विचारमा नआउने विराम
जीवनका निरस क्षणमा रस चुस्दा पनि
त्यो चंचल मनलाई नआउने आराम

आमाको आँखामा गढेको त्यो हिरा
पातलो सिसाझैं टुटिगयो
आमाको काखमा जमेको त्यो ताप
समुद्रका डाँकाझैं लुटिगयो
असिना पर्दाको घरको छानो
भाग्वद गीताकै एक पानो
कुरा पाकाको, मनचैँ सानो
बुबाको त जीउ भित्रकै प्राण त्यो
सबैको मन घुम्न आएको
थाहै नपाई उतापट्टी पो घुमिगयो
मेरो मुटुलाई अट्ने भोटो
आधा अँधुरो मात्रै बुनिगयो

No comments:

Post a Comment