ओझेल


तास जसरी नबाँड मेरो भुमिलाई यसरी
तिमी हामी सबैले जानेका छौँ हामी एक भयौं कसरी
मेचीदेखि महाकालीका हौं हामी, बीचमा नतेर्स्याउ न कर्णाली
हिँड्ने फेरि कसरी नि आफ्नै घुँडामा बन्चरो फाली
भका छौँ अहिले जत्रा टालो टाली टाली
खेलमा साथीले एसो गिज्याउँदा गरीहाल्छौ त गाली?

गलती त सबैले गरे, यो छुट्याउने यहाँ को छ र शुद्ध
मातृभूमि त उनकै, यो अवस्था देखेर कति रोलान हाम्रा बुद्ध
साथमा काम गर्ने बेला, जातलाई किन अँगाल्छौ?
यस्तो दृढ संकल्पमा उभिएका छौँ, आफ्नै मेच किन पगाल्छौ?
माया हामी सबैलाई भए, यो केको तँ तँ र म म
दशैँको मुखमा आएर किन रोक्छौ यहाँको रमझम

ढाका टोपी शिरमै छ सबको, के भयो र अबेला
आफू आफूमै हेला भए, बन्छ फेरि यो छिमेकको मेला
रावणले जिद्दी गर्दा लंकाको के भा'थ्यो हालत
दिन प्रति दिन घाउ-खटिराले सतायो, ऐना एसो हेरिहाल त
यो तिम्रो लागि खेल होला, तर दर्शकको कुरा त सुन
मात्र अँजुली भरीको माफी माग, लगाउ सबै बैगुनी लाई गुण

जब यो कालो बादल पन्छाई उड्छौं, यो जगतले भन्नेछ
नेपाल सँधै नेपालीको थियो र नेपालीकै रहनेछ।

No comments:

Post a Comment