रिसाहा


आउँछन् वाणी सुर्यको ताप बोकेर
आउँछन् वाणी बिजुलीको छाप बोकेर
आउँछन् हाँस्दै आफ्नो अभिशाप छोपेर
ठाउँठाउँमा ठोक्दै, ठाउँठाउँमा घोप्दै
तर मेरो मनको तालमा यी सबै
कसैले फ्यालेका पत्थर हुन्
केहि बेरकालागी लहरहरु आए पनि
सबै मेरो धैर्यतामा नतमस्तक हुन्

सयौं पटक मार खेप्दा खेप्दा
यो दिमाग बनिसकेछ अचानो
कयौं पटक अभद्र व्यवहार देख्दा देख्दा
यो लाग्दो रैछ पुरानो
मेरो मनको तालमा जमेका यी डुङ्गा
उचाले मेरा इन्द्रिय, यी लाटा बुङ्गा
उचाले आँसु नै आउने गरी मेरा जुङ्गा
जब बेला आयो खोज्न जीवनको सार
उल्टै लग्न खोजे मलाई जीवनको पार

गाउँछन् वाणी मेरा कानका जाली तोडेर
गाउँछन् वाणी मेरालागि साथमा गाली जोडेर
गाउँछन् वाणी मेरो सुखको आसन फोडेर
अस्थिरता जोड्दै, सोचाईलाई मोड्दै
भकभकी उम्लेको यो रगतै
पुग्छ यो गुन्जनलाई पुर्याउन शुन्य
हाँस्दै गाउँदै जसरी आए पनि
हारेरै जान्छन अब, पर गएर रुन

अचानो बनेको यो दिमागले
आफ्नो धार तिखार्न सिकिसकेछ
जुनसुकै गायकको पनि अब त
मिति पनि तोकिदिसकेछ
बिर्सेर ती महान ज्ञानदीप बुद्ध
बनी बदलाको लागि यसरी लुब्ध
बिर्सेर को हो बालक, को हो बृद्ध
भइन कसैको, बने म भुस्याहा
भगवानको अन्तिम अवतार मै, आए म मान्छे रिसाहा

मेघ बेदना


आकाशको त्यो रसिलो अङ्गुरलाई हेर
देखेपछि पाउन लाग्दैन कत्ति पनि बेर
रस बिर्सी चमकमै रमाउन थाल्दा
त्यसलाई चाख्ने मौका गयो खेर

हरेक बिहान त्यो रसमय सुगन्धको स्पर्श
आँखैले मात्र रमाउँदा, के बिस्मत के हर्ष
अब कहिले हुरी चल्ला र त्यो अङ्गुर 
मेरो आँ परेको मुखमा झर्छ

किन रहर हो गर्न बादलको शयर
अनि म माथि झरी र चट्याङको लहर
तर जब देख्छु त्यस अङ्गुरलाई, बादल हट्दा
केही छिनमा फेरि ओझेल होला भन्ने डर

अङ्गुरै नाथे मेरो बारीमा नभा'को हो र ?
तर त्यही बासनामा फसिसके घनघोर
अन्तिममा जब बारीकै अङ्गुरलाई नियाल्छु
लाग्दो रैछ जीवनमा हाँसेछु थोर

यसो रसपान गरी मुख मिठ्याउन पाए
अघाएको गीत मनैदेखि गाउन पाए
त्यसलाई बादलकै भरमा छोड्ने थिइन
आफ्नो मनको बारीमा कसैगरी रोप्न पाए

जब

जब पवित्र बागमती देखिन थाल्छ कालो
फाटेको दौरामा लजाउँदै लगाउछौँ टालो
जब यो माकुरे बुद्धीले, किराको अभावमा, फेर्न थाल्छ जालो
रित्तिन थाल्यो यो विचित्र फुलहरुको डालो

जब नफस्ने सङ्कल्पले दिन्छ धोका
जब फेरी ति अन्धाहरुले पाए फसाउने मौका
जब यो भगन्ते मनलाई लगाएन कसैले रोक
अनि कुन ठुलो कुरो भो र समुद्रको ढोका?

जब आफ्नो माया र मायालुको हुँदैन भेट
जब बिर्सन्छौँ आफ्नै आमाको त्याग समेत
जब पर्वाह हुन्छ मात्रै आफ्नो क्षत-बिक्षत
अनि कहाँँ आफ्नो खेतको चामलले भर्छ त पेट?

जब आँखै अघि प्रस्ट छ जुन
जब आफ्नै मैलो टोपी बाँकी छ धुन
जब आफ्नै साहुको, आफ्नै माऊको तिर्नै छ नुन
अनि किन पो गाउँछौँ समुद्रपारिको गुण?