बाँदर


जसरी त्यही पानी देख्छु म फोहोर
र त्यसैले बनाउछौ तिमी आफूलाई टिलिक्क
जसरी त्यही प्राणी देख्छु म चोर
भनेँ भने रिसाउँदै तर्नेछौ  पिलिक्क
अब यसैलाई भन्छौ भने जिन्दगी, तिम्रो दु:खमा म हाँस्ने
किनभने विचार भन्दा पर सत्य छ, स्वार्थमा स्वार्थ कसरी गाँस्ने ?

म जो होइन, त्यही बनाउन खोज्छु
जून भन्दा पर अर्को जून छ जस्तो लाग्छ
म जे छुइन, त्यही देख्न खोज्छु
बैगुण भन्दा अर्को गुण पनि छ जस्तो लाग्छ
म हात बढाउन खोज्छु, तर त्यसमा घात हुन्छ
म साथ दिन खोज्छु, तर त्यसमा विश्वासघात हुन्छ
व्यक्तित्वलाई सचेत रुपमा पालना गर्ने नौलो पाएँ मैले
बुद्धि पला'को आजकल त्यसैलाई भन्दा रै'छन् सबैले
हुन त जहाँ तैरिँदै छौ, त्यसबारे ज्ञान हुन हो राम्रो
र यस सागरमा नडुबी बाँच्ने काम हो हाम्रो

नामको लुगा फुकाली तिमी नाङ्गिन सक्छौ ?
कडा भए टुट्लाऊ, के बाङ्गिन सक्छौ ?
धर्तीका सन्तान तिमी, धर्तीका सिर्जक पनि हौ
संसारमा जे चल्छ त्यो दिमागमा,
र दिमागका उत्पादन त आफै समयमा अघि प्रकट हुँदा रै'छन् त लौ
यस भूगोलका क्रिया मन झोलमा,
र मनझोलका तरङ्ग यस भूगोलमा स्पष्ट देखिँदा रै'छन् त लौ
बालक ठूलो भा'को हैन, धुलो मैलो भा'को रै'छ त लौ
अझै पनि किन चैँ यसबारे चर्चा नगरेका हौँ ?

नाम बिर्स भन्दै छु, दाम त परै जाओस्
अबुझ भई अबुझलाई सलाम नगर भन्दैछु, अनुकरण त परै जाओस्
मन्दिर गई राम-श्यामलाई नगुहार भन्दैछु, भक्ति त परै जाओस्
विभाजनका सबै निशान मेट भन्दैछु, सुरक्षाको नाममा युद्ध त परै जाओस्

भ्रमज्ञान


बिर्सिने बानी बसाल
बिर्सन यो मस्तिष्कलाई मजा
हरेक रात सुत्नासाथ
बिर्स कुन जात, कुन ध्वजा

बिर्स के गर्थ्यौ, किन गर्थ्यौ
प्रस्थानमा के थियौ, त्यसरी नै बिर्स
चर्म चक्षु त खेल खेल्छन् नै
तर बिर्सी रह यी सबैबाट शीर्ष

बिर्स आफ्नो खेतमा सधैँ बर्खा लाग्ने इच्छा
बिर्स कि तिमी उल्काको सहज पिडित हुनेछौ
भूत नापीको त्रासलाई बिर्स
बिर्स कि त्यो भण्डार हुँदा हुँदै रुनेछौ

बिर्स तिम्रो खराब भाग्यबारे
नबिर्से'नि घामपानीमा रमाउन
यहाँ संरक्षणको के जरुरी छ र?
बिर्स केहि याद गर्न, गराउन

बिर्स फैसला टेढो पार्ने धर्मलाई
बिर्स धनमा धमिलो पार्ने कर्मलाई
प्रचण्ड कलीकालका उपज हो
बरु मै बिर्सिन्छु यो भुलाउने भ्रमलाई