घमाईलो

रगत जमाउने यस युगको ठण्डीमा
बिरुवा र माटोको बदलिएको सन्धिमा
आमाले तेल दलेको त्यो छोरोको ढाडमा
वन फाँडेर पहिरो ग्रसित बनेको पहाडमा
सुर्य देवताको सबैमा नजर छ
त्यसैले त शहरमा डुल्ने बाबुनानी देखि
गाउँमा खोक्दै हिँड्ने बुढ्यौली बानीसम्ममा
सुर्यको ताप अजर छ

आजको युधिष्ठिरको बोलीको नेपथ्यमा
आजको एकालव्यको एकल हिँडाईको गन्तव्यमा
आजको सागले पोषिएको हरेक नेत्रमा
प्रगती उन्मुख आजका वेदका प्रत्येक सुत्रमा
आजको कृष्णको त्यो सुरिलो बाँसुरीको धुनमा
बाबुले छोराछोरीलाई लगाएको सम्पुर्ण गुणमा
दिनहुुँ बढ्ने यो घामको तापको राप छ
त्यसैले त परमधाम नहुन्जेल आज सबैको
मुहारमा त्यस रापको रातो छाप छ

कोठाभित्र पस्ने घामका न्याना किरण
ताप्नबाट कसैलाई बन्चित हुनु छैन
बिहानै उठेर सुर्य नमस्कार नगरी
कसैलाई यहाँ नास्तिक हुनु छैन
मन शान्त पार्ने न्यानोपन न भेटिएला कि
आँगनमा आफुले रोपेका सुर्यमुखीको तिर्खा नमेटिएला कि भनी
बिहान भरी सुतेर उज्याला समय गुमाई राती कसैलाई रुनु छैन

तर सुर्यले दिने उर्जा र
हामीले सँधै गर्ने सुर्यको पुजाले गर्दा
हाम्रो जीवनमा उसको उच्च स्थान अचल छ
त्यसैले त छाँयामा परेकाको बेवास्ता गर्दै
तेज प्राप्तिकोलागी जो दौडन्छ,
आज उसैको छवि अब्बल छ

मित्रले मायाले अघि बढाएको हातमा
सुखी भनाउँदो हरेक दम्पतीबीचको साथमा
आफ्नो गाउँ-देहात बनाउने सपना बोक्ने त्यो युवामा
गुरुले चेलाका दिमागसँग खेलेको जुवामा
चेलाले गुरुप्रति देखाउने आदर सत्कारमा
आजका दिनमा प्रकाशित गीताको सारमा
त्यो घामको ज्योती हद भन्दा पार छ
त्यसैले त यो अन्धकार युगमा पथ प्रदर्शन गर्न
त्यही ज्योती सबैको आधार छ